Business Yoga and Leadership Integration from Bhagavad Gita
Business Yoga and Leadership Integration from Bhagavad Gita
किताबको बारेमा-
यो किताब एक व्यावहारिक मार्गदर्शक हो।जसमा व्यावसायिक योगको बारेमा बताइएको छ। अहिलेको समय व्यक्ति बाह्य सफलता पाए पनि आन्तरिक असन्तुष्टिले मानसिक समस्या सिर्जना गरेको छ। जसले अन्तत विश्वलाई विनाशको दिशातर्फ डोराएको छ। यसर्थ व्यावसायिक सफलता र आन्तरिक खुसीको समायोजनको बिन्दुको खोज अहिलेको विषय बन्न पुग्यो। यही सन्तुलनको स्वरूपलाई मध्यनजर गरेर भगवत गीता जस्तो जीवन्त मानव समाजको दिव्य शास्त्रलाई व्यावसायिक नेतृत्वमा जोडेर यो किताब तयार गरिएको हो। जसमा बाह्य नेतृत्व सँगसँगै आन्तरिक उन्नतिको लागि आध्यात्मिक सूत्रको बारेमा शिक्षा दिएको छ।
1- New Leadership Sutra
अध्याय ५ नेतृत्वका चार मोडेलहरू — भगवद्गीता र आधुनिक व्यवस्थापनको सेतु
1-नेतृत्वको गहिरो कला — MCD Model र Talent Progression
२. ट्यालेन्ट प्रोग्रेशन (Talent Progression)
३. Kirkpatrick Leadership Model — गीता र नेतृत्वको मनोविज्ञान
४. ABCD Model of Leadership
अध्याय ६ : सन्तुलन, स्थिरता र समर्पणको नेतृत्व दर्शन(Leadership through Balance, Stability, and Devotion)
अध्याय ७ : लिडरशिप इन सॉलिट्यूड (Solidarity in Solitude) — एकलव्यको शिक्षा
अध्याय 8 : मौनको शक्ति — आत्म–नेतृत्वको ६० मिनेटको एकान्त साधना
अध्याय 9 : नेतृत्व उदाहरणद्वारा (Leadership by Example)
अध्याय 10 : नेतृत्व: शिक्षण र पालन (Leadership is both Mentoring and Parenting)
अध्याय 11 : नेतृत्व: शिक्षण र पालन (Leadership is both Mentoring and Parenting)
अध्याय १ : व्यवसाय योग र नेतृत्वको एकीकरण – भगवद्गीताबाट सिक्ने जीवन–सूत्र
ज्ञानको शक्ति
जीवनमा साँचो शक्ति शारीरिक बल, धन वा पदबाट आउँदैन।साँचो शक्ति हो — ज्ञान। जहाँ ज्ञान हुन्छ, वास्तविक सुख त्यहीँ हुन्छ।
एक पटकका लागि निर्धन व्यक्ति खुशी हुन सक्छ, तर अज्ञानी व्यक्ति कहिल्यै खुशी हुन सक्दैन। किनभने अन्धकारलाई हटाउने एक मात्र शक्ति ज्ञान हो।
ज्ञान त्यो प्रकाश हो जसले चेतनाको ढोका खोल्छ। जब बुद्धि प्रज्वलित हुन्छ, जीवनको बाटो उज्यालो हुन्छ। यही कारणले भनिन्छ—
“An investment in knowledge pays the best interest.”
ज्ञानमा लगानी गर्नेले धन, मान र सफलता तीनै प्राप्त गर्छ। तर जो केवल धनमा लगानी गर्छ, अन्ततः उसले बुद्धि गुमाउँछ र दिशा हराउँछ।
संस्कृतमा एउटा अद्भुत वाक्य छ—
“स्वदेशे पूज्यते राजा, विद्वान सर्वत्र पूज्यते।”
राजा केवल आफ्नो देशमा पूज्य हुन्छ, तर विद्वान व्यक्ति संसारभर पूज्य हुन्छ। राजाको शक्ति सीमित हुन्छ, तर विद्वानको प्रभाव असीमित हुन्छ। आजको संसारमा पनि जुनसुकै देशमा जाउँ, विद्वानको सम्मान हुन्छ, किनभने ज्ञानको कुनै सीमाना हुँदैन। त्यसैले, विद्या भनेको सीमाहीन सम्पत्ति हो — यो चोरीले हराउँदैन, र बाँड्दा घट्दैन।
भगवद्गीता — सफलता र यसको महत्व
अब कुरा गरौं — भगवद्गीताको।
भगवद्गीता मानव सभ्यताको त्यो उज्यालो दीप हो जसले अज्ञानको अन्धकार चिर्छ र चेतनाको ढोका खोल्छ।
यो केवल धार्मिक ग्रन्थ होइन; यो जीवनको विज्ञान, नेतृत्व पाठशाला, निर्णय–कला र आत्मबोधको मार्ग हो।
युद्धभूमिमा अर्जुनको आन्तरिक द्विविधा र कृष्णको ज्ञानले हामीलाई सिकाउँछ — जीवनमा सही निर्णय कसरी गर्ने।
जब हामी भगवद्गीताको चर्चा गर्छौं, हामी धर्मको सीमाभित्र सीमित कुरा गर्दैनौं;
हामी त्यो संवादको चर्चा गर्छौं जसले सम्पूर्ण मानव जीवनका प्रश्नहरूको उत्तर दिएको छ।
यही कारणले भगवद्गीता विश्वकै सबैभन्दा गहिरो, प्रेरणादायी र जीवन रूपान्तरण गर्ने ग्रन्थ बन्न पुगेको छ।
कल्पना गर्नुहोस् —
एक युद्धभूमि, जहाँ धनुषबाण बोकेका अर्जुन आफ्नो कर्तव्य र भावनाबीच द्वन्द्वमा अल्झिएका छन्।
उनको मन भ्रमित छ — के गर्दा उपयुक्त हुन्छ ? भन्ने द्विविधामा छन्। उनको आत्मा भयले थिचिएको छ।
त्यही क्षणमा कृष्णले उनको आत्मामा गीताको ज्ञानदीप प्रज्वलित गर्नुहुन्छ,र अर्जुनलाई बोध गराउनुहुन्छ कि युद्ध बाहिर होइन, यो त नितान्त भीत्रको युद्ध हो — कर्तव्य र मोहबीचको युद्ध।
पृथ्वीको इतिहासमा यसभन्दा प्रभावशाली संवाद कहिल्यै भएको थिएन।
४८ मिनेटको त्यो वार्ताले केवल अर्जुनलाई मात्र होइन, हजारौं वर्षदेखि लाखौं मानिसहरूलाई प्रेरित गर्दै आएको छ।
गीता — ज्ञानको महासागर
गीता कुनै धार्मिक ग्रन्थ मात्र होइन, यो व्यवहारिक जीवनको त्यस्तो निर्देशिका हो जसमा जीवन कसरी जिउने भन्ने कैयौं सूत्र समावेश छन्।गीतामा जम्मा ७०० श्लोक छन्, र ती प्रत्येक श्लोक शब्द होइनन् — ज्ञानका बीउ हुन्।
कृष्णका ५७४ श्लोकहरू छन् —जो गुरुका वचन, ज्ञानका मन्त्र हुन्।
अर्जुनका ८४ श्लोकहरू छन् — जो मानवीय कमजोरीका अभिव्यक्ति हुन्।
सञ्जयका ४१ श्लोक छन्, र धृतराष्ट्रको केवल एक श्लोक छ,
तर त्यस एक वाक्यले सम्पूर्ण ग्रन्थको पृष्ठभूमि निर्माण गर्छ।
तर आजको युगमा हामी माझ गीता बुझ्ने संस्कृति हराउँदै गएको छ। हामीले यसलाई रातो कपडामा बेरेर पूजा गर्ने बानी त सिक्यौं, तर पढ्ने र आत्मसात् गर्ने संस्कार हरायो। हामी गीता अगाडि हात जोडी प्रणाम गर्छौं, धूप बाल्छौं, भक्ति प्रदर्शन गर्छौं, तर त्यसको गहिरो सन्देश व्यवहारमा उतार्ने प्रयत्नन गर्दैनौं।
विडम्बना त के भने, कतिपयले यसलाई केवल धार्मिक परम्पराको प्रतीक ठान्छन्, तर यो त जीवनको व्यवहारिक मार्गदर्शन हो। हामी कहिलेकाहीँ यसमाथि हात राखेर कसम पनि खान्छौं, तर त्यसका एक पाना पनि पढ्दैनौं।
यो कस्तो विरोधाभास हो —
जहाँ ज्ञानको महासागर हाम्रा सामु खुला छ, तर हामी किनारमै उभिएर पूजा गरेर सन्तुष्ट हुन्छौं।
भगवद्गीता केवल पढ्नका लागि होइन, अनुभव गर्नका लागि हो; केवल सम्झनका लागि होइन, जीवनमा उतार्नका लागि हो।
यदि गीताले केवल प्रणाम गर्दा यति धेरै शक्ति दिन सक्छ भने, सोच्नुहोस् जब हामी यसलाई बुझेर बाँच्न थाल्छौं,
तब हाम्रो जीवनमा कस्तो गहिरो रूपान्तरण आउला।
गीता पढ्ने व्यक्ति केवल ज्ञानी हुँदैन,ऊ जीवनका हरेक निर्णयमा स्थिर रहन सक्छ। उसले कर्मको अर्थ बुझ्छ, कर्तव्य र परिणामबीचको भिन्नता बुझ्छ, र सबैभन्दा महत्वपूर्ण कुरा — उसले शान्ति प्राप्त गर्छ र जीवनलाई सार्थकताका दिशातर्फ लैजान्छ।
गीता हामीलाई सिकाउँछ —
साँचो धर्म पूजा होइन, कर्म हो। साँचो साधना केवल मन्त्र जप्नु होइन, आफ्नो कर्तव्य इमानदारीपूर्वक पूरा गर्नु हो। जब मानिस आफ्नो कर्तव्यलाई भक्ति बनाउँछ, तब उसको जीवन स्वतः गीता बन्छ।
यसरी हेर्दा, भगवद्गीता कुनै ग्रन्थ मात्र होइन, यो चेतनाको प्रशिक्षण हो। यो हाम्रो मनको प्रशिक्षण हो — जसले हाम्रा भय हटाउँछ, भ्रम हटाउँछ, र विश्वास जगाउँछ।जीवनको सार्थकतातर्फ अगाडि बढाउँछ।
गीता पढ्ने मानिस आफूभित्रको अर्जुनलाई चिन्छ, र भगवान् कृष्णको ज्ञान भित्र जगाउँछ। त्यो क्षण, ऊ केवल युद्ध होइन, जीवन जित्छ।त्यसैले भनिन्छ —
गीता पढ्नेले केवल शब्द होइन, आत्मा पढ्छ। यसका हरेक श्लोक आत्म–विकासको सूत्र हुन्,
हरेक पंक्ति जीवनको सन्देश हो, र हरेक विचार मुक्ति तर्फको कदम हो।
गीता केवल आन्तरिक उन्नतिको कुरा गर्दैन; यसले बाह्य सफलतालाई पनि उत्तिकै महत्व दिन्छ।त्यसैले कृष्णले सबै त्यागेर सन्यासी बन्छु भन्ने अर्जुनलाई सन्यासी बन्न होइन,आफ्नो कर्तव्य पालन गरेर युद्ध गर्न र पुनः आफ्नो अधिकारको सिंहासन प्राप्त गर्न प्रेरित गर्नुभयो।
यसर्थ —
जो मानिस गीता पढ्न थाल्छ,ऊ केवल आन्तरिक उन्नतिको मात्र होइन,साथैपरमात्मा प्रदत बाह्य सफलताको पनि त्यत्तिकै हकदार बन्छ। गीता केवल सिकाउँदैन, रूपान्तरण गर्छ। र यही रूपान्तरण नै जीवनको साँचो सफलता हो।
आन्तरिक युद्ध र “मेरो–तिम्रो” मानसिकता
भगवद्गीताको पहिलो अध्यायको पहिलो श्लोक धृतराष्ट्रको मुखबाट सुरु हुन्छ। धृतराष्ट्र फरक प्रकारका व्यक्ति थिए—शक्तिशाली राजा, तर अन्धा। उनको अन्धत्व केवल आँखाको थिएन, त्यो चेतनाको अन्धकार थियो। यही अन्धकारले युद्धको मूल कारण जन्मायो।उनले भनेका थिए—
धर्मक्षेत्रे कुरुक्षेत्रे समवेता युयुत्सवः।
मामकाः पाण्डवाश्चैव किमकुर्वत सञ्जय॥”
अर्थात्, “हे संजय! धर्मभूमि कुरुक्षेत्रमा मेरा छोराहरू र पाण्डुका छोराहरू युद्ध गर्नका लागि एकत्रित भएका छन्, तिनीहरूले के गरे?”
यो प्रश्न सानो देखिन्छ, तर गहिरो अर्थ बोकेको छ। यहाँ धृतराष्ट्रले मामकाः अर्थात् “मेरा” र “पाण्डुका पुत्रहरूले के गरे?” भनेर सोधेका छन्। तर वास्तवमा धृतराष्ट्रले भन्नुपर्थ्यो — “हाम्रा पुत्रहरूले के गरे?”
त्यो “मेरा” र “तिम्रो” ले नै विभाजन जन्मायो। यहीँबाट समस्या सुरु हुन्छ—र यही कुरा हाम्रो जीवनमा पनि लागू हुन्छ।
हामी प्रायः “मेरो” र “तिम्रो” भन्ने सोचमा अड्किन्छौं— “मेरो टिम, तिम्रो टिम”, “सेल्स डिपार्टमेन्ट र फाइनान्स डिपार्टमेन्ट”, “एचआर र अपरेसन”। यही मानसिकता संस्थामा, समाजमा र परिवारमा संघर्षको मूल कारण हो।
यही सोचले विभाजन ल्याउँछ, सहयोग होइन।
जबसम्म सोच “मेरो” र “तिम्रो” मा छ, तबसम्म संघर्ष रहन्छ। जब सोच “हाम्रो” मा बदलिन्छ, त्यतिबेला मात्र एकता सुरु हुन्छ।
गीता हामीलाई सिकाउँछ यो युद्ध केवल बाहिरी होइन, यो मूलतः भीत्रको हो। हामी भित्रैमा “मेरो र तिम्रो” बीचको युद्ध चलिरहेको हुन्छ — अहंकार र चेतना बीचको,स्वार्थ र कर्तव्य बीचको, इच्छा र द्विविधा बीचको।
र महत्त्वपूर्ण कुरा जबसम्म मनमा विभाजन रहन्छ, तबसम्म शान्ति आउँदैन।
धेरै मानिसहरू भन्छन् — “गीता त कृष्णले अर्जुनलाई भनेका थिए।”तर वास्तविकता के हो भने, गीता हरेक मानिसका लागि भनिएको हो। हरेक व्यक्ति कहिँ न कहिँ अर्जुनको अवस्थामा पुग्छ — द्वन्द्वमा, डरमा, असमञ्जसमा।
यसर्थ, गीता हाम्रो लागि हो।विशेष गरी “मेरो लागि” भन्दा अझ यसको महत्व बढेर जान्छ। जबसम्म हामी सोच्दछौं कि गीता हाम्रो लागि हो, हामी त्यसलाई केवल सुन्नेछौं, पढ्नेछौं,हदैसम्म पूजा गर्नेछौँ र अरुलाई उपहार दिनेछौँ। तर जब हामी यसलाई व्यक्तिगत रूपमा लिन थाल्छौं — कि यो मेरो लागि भनिएको हो, त्यसले हाम्रो जीवनमा गहिरो प्रभाव पार्न थाल्छ र वास्तविक रूपान्तरण ल्याउँछ।
व्यवसायमा पनि यही सूत्र लागू हुन्छ। जब कसैले सोध्छ — “यो कसको कम्पनी हो?” यदि तपाईं जवाफ दिनुहुन्छ — “हाम्रो कम्पनी,” त्यसबेला तपाईं केवल कर्मचारी हुनुहुन्छ। तर जब तपाईं भन्नुहुन्छ — “यो मेरो कम्पनी हो,” त्यस क्षण तपाईं मालिक बन्नुहुन्छ।
Ownership लिँदा जिम्मेवारी स्वतः बढ्छ, र जिम्मेवारी बढ्दा परिणाममा परिवर्तन हुन्छ। यसर्थ, गीता “मेरो लागि हो” भनेर बुझ्नु अत्यन्त महत्त्वपूर्ण छ।


0 Comments