प्रोएक्टिभ सोच र उद्यमशील नेतृत्व

अध्याय १: प्रोएक्टिभ सोच र उद्यमशील नेतृत्व

(Proactive Thinking and Entrepreneurial Leadership)

प्रोएक्टिभ र रियाक्टिभ सोच

मानिस एउटा यस्तो प्राणी हो, जसले चाह्यो भने जे पनि गर्न सक्छ, तर चाहेन भने केही पनि गर्न सक्दैन। वास्तवमा “हुँदैन” भन्ने कुरा पनि सत्य हो, र “सक्छु, हुन्छ” भन्ने कुरा पनि सत्य हो — फरक केवल सोच र दृष्टिकोणमा हुन्छ।
एक सुन्दर भनाइ छ —
“मैने तुम्हे पानेको सोचा, पूरी कायनात तुम्हे मिलानेकी साजिश करने लगी।”
अर्थात् जब मानिसले आफ्नो मनभित्र गहिरो इच्छा र दृढ संकल्प बनाउँछ, तब ब्रह्माण्डका सबै शक्ति त्यसलाई पूरा गराउन सहायता गर्छन्।

हाम्रो देशमा थुप्रै समस्या छन् — राजनीतिक अस्थिरता, बेरोजगारी, आर्थिक अभाव, प्रवास, र सामाजिक विभाजन। यीमध्ये धेरै समस्या व्यक्तिगत रूपमा समाधान गर्न सकिँदैनन्, तर केही यस्ता समस्या पनि छन्, जसलाई अवसरमा बदल्न सकिन्छ।
यस्ता अवस्थाहरूमा मानिस दुई किसिमका देखिन्छन् —
पहिलो, जो “सकिन्दैन” भनेर बस्छन्;
दोस्रो, जो त्यही परिस्थितिमा अवसर खोज्छन्।

Steven R. Covey को लामो अध्ययनले देखाउँछ — सफल व्यक्ति (Proactive Person) र असफल व्यक्ति (Reactive Person) बीचको मुख्य भिन्नता दृष्टिकोणमा हुन्छ।
प्रोएक्टिभ व्यक्ति एउटै समस्यामा सम्भावना देख्छ, जब कि रियाक्टिभ व्यक्ति त्यसैलाई समस्या र असफलताको कारण देख्छ।

बोल्ने होइन, गर्ने मान्छे बन्ने

भनिन्छ — “बोल्नेको मात्र पिठो बिक्छ।” तर पिठो बेच्नका लागि गहुँ त उमार्नै पर्छ।
नेपालमा प्रायः गर्नेभन्दा बोल्ने बढी छन्, र बोल्ने कामलाई मात्र प्रतिष्ठाको रूपमा लिइन्छ।
कर्मयोगी उद्यमीहरूलाई “सामान्त” वा “ठग” को दृष्टिले हेर्ने परिपाटीले देशको आर्थिक उन्नति रोक्छ।
विकासको मूल आधार नै आर्थिक उत्पादन हो  र त्यसको मेरुदण्ड उद्यमशीलता हो।

गरिबी, रोजगारी र उद्योग

नेपालमा धेरै समस्या छन्, तर त्यसको मूल जड गरिबी र रोजगारीको अभाव हो।
गरिबी नियन्त्रणको लागि रोजगारी चाहिन्छ, र रोजगारी सिर्जना गर्न उद्योगधन्दा आवश्यक हुन्छ।

देशको विकास रूपी रथलाई तान्ने शक्ति भनेकै उद्यमशीलता हो।
तर त्यो रथका घोडा — अर्थात् उद्यमीहरू —लाई अगाडि बढ्नका लागि राज्यले लगाम खुकुलो बनाउनुपर्छ।
चीन जस्तो देशमा लगानी गर्न चाहने उद्योगीलाई राज्यले जग्गा, श्रम, नीतिगत सहयोग र आधारभूत संरचना सजिलै उपलब्ध गराउँछ।
त्यसैले उनीहरू तीव्र गतिमा अघि बढ्छन्। नेपालले पनि त्यस्तै वातावरण सिर्जना गर्न जरुरी छ।


नेतृत्वका नौ गुण — The 9 C’s of Leadership

सच्चा नेता, चाहे ऊ राजनीतिज्ञ होस् या उद्यमी, उसमा नौवटा मौलिक गुण हुनुपर्छ, जसलाई The 9 C’s of Leadership भनिन्छ —

  1. Curiosity (जिज्ञासा):
    नयाँ ज्ञान, सीप र सम्भावनाको खोजीमा निरन्तर जिज्ञासु रहनु।

  2. Creativity (सृजनशीलता):
    सदैव संगठनमा नयाँ सोच, नयाँ उपाय, र नयाँ सिर्जनात्मक दृष्टिकोण अपनाउने क्षमता।

  3. Communication (सञ्चार):
    आफ्नो विचार, भावना, र दृष्टिकोण स्पष्ट र प्रभावकारी रूपमा व्यक्त गर्न सक्ने योग्यता।

  4. Character (चरित्र):
      जिम्मेवारी पाएको बेला आफ्नो कर्तव्यलाई निष्ठा र इमानदारीका साथ पूरा गर्ने क्षमता। जिम्मेवारी नपाएको अवस्थामा उसको चरित्र थाहा पाइँदैन। अब्राहम लिङ्कनले भनेका छन् — “कसैको चरित्र जान्न हो भने उसलाई जिम्मेवारी सुम्पिदेउ।”
    सत्तामा नपुगुन्जेलसम्म भ्रष्टाचारको विरोध गर्नु सजिलो हुन्छ, तर सत्तामा पुगेपछि मात्र वास्तविक चरित्र देखिन्छ।

  5. Conviction (आत्मविश्वास):
      जस्तोसुकै कठिन परिस्थिति आए पनि नेतृत्व गर्न सक्छु भन्ने आत्मबल र दृढ विश्वास।

  6. Courage (साहस):
    साहस शब्द र भाषणबाट प्रदर्शित हुने कुरा होइन, आइपर्दा गर्ने निर्णय र पूरा गर्ने जिम्मेवारीबाट स्पष्ट हुन्छ।

  7. Charisma (आकर्षण):
    अरूलाई मनाउन, विश्वास दिलाउन र आफ्नो पछाडि लगाउन सक्ने अद्भुत क्षमता। यही गुणले नेतालाई “charismatic personality” बनाउँछ।

  8. Competence (योग्यता):
    कार्यक्षमता, व्यावसायिक ज्ञान, र व्यवहारिक सीपको संयोजन।वास्तविक सीप, ज्ञान, र सामर्थ्य बिना कुनै पनि नेतृत्व दीगो हुन सक्दैन।

  9. Common Sense (सामान्य बुद्धि):
    जटिल परिस्थितिमा सही निर्णय गर्न सक्ने व्यावहारिक बुद्धिमत्ता।

उद्यमी : समाजको मौरी

उद्यमी एउटा मौरी जस्तै हुन्छ। मौरीले मह बनाउने क्रममा फूलहरूको पराग प्रसारण गरेर प्रकृतिको पारिस्थितिक प्रणालीलाई सघाउँछ, र त्यस महले अरूलाई पनि पोषण दिन्छ।
त्यसैगरी, उद्यमीले आफ्नो सिर्जनशीलता र श्रमद्वारा समाज र राष्ट्रको समृद्धिमा योगदान पुर्‍याउँछ।

उद्यमी केवल नाफाका लागि काम गर्दैन; ऊ समाज, श्रम, र मानवीय मूल्यका लागि पनि जिम्मेवार हुन्छ।
ऊ एउटा मौरी हो, जसले आफ्ना लागि मात्र होइन, समाजका लागि पनि मह उत्पादन गर्छ।

सारांश

प्रोएक्टिभ सोच भनेको परिस्थितिलाई दोष नदिई, त्यसमा अवसर खोज्ने दृष्टिकोण हो।
रियाक्टिभ सोचले समस्या देख्छ, प्रोएक्टिभ सोचले समाधान खोज्छ।
सफल उद्यमशील नेतृत्व त्यही सोचबाट जन्मिन्छ, जसले भनाइ होइन — कर्ममा विश्वास गर्छ।
देशमा उद्योग, रोजगारी, र आत्मनिर्भरता बढाउन प्रोएक्टिभ सोच भएका उद्यमीहरू नै मूल चालकशक्ति हुन्।
त्यसैले, आजको नेपाललाई आवश्यक छ —
प्रोएक्टिभ सोच, सृजनशील उद्यम, र इमानदार नेतृत्व।



SHARE

0 Comments

Leave a Reply